HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाललाई अँचेटिराख्ने दाउ (इतिहास)

६ थरी भारदारको अथक् प्रयत्नले नेपालको सीमा ६ दशकसम्म पूर्वमा टिष्टा र पश्चिम सतलज पारिसम्म पुग्यो। यसरी पृथ्वीनारायण जस्ता विजिगीषु (विजयको इच्छा गर्ने) राजा, बहादुर शाह जस्ता षाड्गुण्यपारङ्गत (राजनीतिका ६ वटै गुणमा पारङ्गत) र सुझबुझ भएका नायव र त्यस्तै सुझबुझ भएका ६ थरी भारदारको जमघटबाट नेपाल एकीकरण सम्पन्न भएको हो।

सुगौली सन्धिपछि नेपालले ब्रिटिश सरकारले खटाएर दिएका हतियार किनेर ल्याउनुपर्‍यो। चन्द्रशमशेरले चाहिए जति हतियार किनेर लिन पनि मगन्ते जस्तो दयापात्र बन्नु परेको बेखुशी ब्रिटिश विदेश सचिवसँग प्रकट गरेथे।

राणाकालकै पनि प्राइमिनिष्टरहरू विदेशीसँग नेपालको अधिकार जताएर बात गर्थे, अहिलेकाहरू त आदेश शिरोपर गर्न अघि सर्छन्।

चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति दस्तावेज
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति

-ज्ञानमणि नेपाल

“चीनलाई नेपालमा जम्न ब्रिटिश सरकारले कहिल्यै दिने छैन”, सं. १९६४ मा अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथले बोलेको यही वाक्य अहिले २०७३ सालमा पनि स्वतन्त्र भारतका नेपालनीतिका जानिफकारहरू दोहोर्‍याइरहेका छन्। भारतले बारम्बार नाकाबन्दी गरेर नसताएको भए नेपालले पुरानो मित्रराष्ट्र चीनसँग बेपार, पारवहन तथा यातायात सन्धि गर्थ्यो त? अहिले भारतमा सञ्चार माध्यमले कोकोहोलो मच्चाइरहेका छन्, के भन्नु?

त्यसबेला ब्रिटिश भारतका अधिकारीहरू चीनको त्रास देखाएर नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्थे। महाराजले पनि त्यो अनुभव गरेकै थिए। ब्रिटिश अधिकारीहरू भने सधैं यही कुरा उठाइरहन्थे। चीनको हाउगुजी देखाएर नेपाललाई कजाउने ब्रिटिश सरकारको नेपाल नीति थियो। आश्चर्य, आज डेढ सय वर्षपछि स्वतन्त्र भारतको नेपाल नीति त्यही छ।