माधव नेपालले मन्त्रीहरूलाई भने- पार्टीको निर्णय आफैं कार्यान्वयन गर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न आफ्ना मन्त्रीहरूलाई आग्रह गरेका छन्।
शनिबार बसेको पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले मन्त्री फेरबदल गर्ने निर्णय कार्यान्वयन गर्न एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आग्रह गरेका हुन्। अध्यक्ष नेपालले भने, “पार्टीको निर्णय आफैं कार्यान्वयन गर्नुहोस्।”
सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्री सहित १० सांसदले मन्त्री फेरबदल गर्ने निर्णयमा असहमति जनाएका थिए। उनीहरूले अध्यक्ष नेपाललाई पत्र पनि पठाएका थिए।
पोलिटब्यूरो बैठकमा भने अध्यक्ष नेपालले मन्त्रीहरूलाई पार्टीको निर्णय कार्यान्वयन गर्न सम्झाएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। “पार्टीको निर्णय कार्यान्वयन हुन्छ। आज र भोलिसम्म कार्यान्वयन हुन्छ,” खतिवडाले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने, “पार्टीको निर्णय कार्यान्वयनका लागि मन्त्रीहरूलाई सम्झाउने काम भएको छ।”
एकीकृत समाजवादीका सांसदले पठाएको पत्रका विषयमा भने छलफल नभएको खतिवडाले बताए। “अध्यक्षलाई पठाएको पत्रका विषयमा बैठकमा चर्चा भएको छैन,” उनले भने, “पत्रका सबै बुँदा भविष्यमा सिक्नका लागि काम लाग्नेछन्। निर्णय परिवर्तन गर्न छलफल हुँदैन।”
पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंमा बस्दै छ।